साझा उद्देश्यका लागि दाङ महोत्सव

Filed under: सम्पादकीय |

घोराहीमा बहुउद्देश्यीय सामुदायिक सभाहल निर्माण गर्ने उद्देश्यले हिंजोबाट पर्यटन महोत्सव भइरहेको छ । समग्र आर्थिक विकासका लागि यस प्रकारका महोत्सवहरु फलदायी हुने गरेका छन् । यस हिसाबले दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको यस पटकको महोत्सव पनि फलदायी हुनेछ भन्ने विश्वास लिन सकिन्छ । कुनै पनि विषयलाई उद्देश्य मुलुक बनाउन सकेको खण्डमा त्यसको सफलता त्यति नै प्रतिशत बढि हुन्छ । बहुउद्देश्यीय सामुदायीक भवन निर्माण जिल्लाकै आवश्यकताको विषय हो । यस हिसाबले पनि यस पटकको महोत्सव सबैको साझा बन्नेछ भन्न सकिन्छ । साझा उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा सबैको साथ सहयोग लिने र यो महोत्सव हाम्रो पनि हो भन्ने कुराको वातावरण निर्माण गर्न आयोजक र यससंग जोडिएका व्यक्तिहरुले भूमिका खेल्नुपर्छ ।
विगतमा पनि जिल्लामा धेरै महोत्सवहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् । व्यापारिक महोत्सवदेखि अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवहरु समेत सफलतापूर्वक नमूना योग्यरुपमा सम्पन्न भइसकेका छन् । यसपटक पनि आयोजक पक्षले महोत्सवलाई भव्य बनाउने कुरामा कुनै कसर बाँकी छाड्नेछन् भन्ने पक्षमा हामी छैनौं । जेहोस्, साझा उद्देश्य सहित आयोजना गर्न लागिएको महोत्सव सबैको साझा महोत्सव बन्नुपर्छ । महोत्सव आयोजना गर्न लागिएको उद्देश्य पुरा गर्न सकेको खण्डमा दाङमा पनि ठूला कार्यक्रमहरु गर्न सकिने अवस्था हुन सक्छ । केन्द्रीय स्तरको कार्यक्रम गर्नका लागि ठूला सभाहलहरु नभएकाले पनि कतिपय राम्रा कार्यक्रमहरुको अवसर दाङले गर्ने मौका गुमाउँदै आएको छ । यस्तो विडम्वनापूर्ण अवस्थाबाट दाङलाई पार लगाउनैपर्छ । महोत्सवको तयारीहरु विभिन्न चरणबाट अगाडि बढिरहेको छ । महोत्सव साझा विषय भएकाले यसलाई बढी भन्दा बढी उपयोगी बनाउनका लागि नयाँ पन, नयाँ सोंच अनिवार्य छ ।
यस पटकको महोत्सवमा हेलिकप्टरबाट जिल्लाको अध्ययनका साथै स्वर्गद्वारीसम्म पुग्न सकिने व्यवस्था आयोजकले मिलाएका छन् । यसैगरी अन्य विभिन्न नयाँ कुराको अवलोकन यसपटक महोत्सवमा गर्न पाइने भएको छ । लागेपुगेसम्म आयोजकले महोत्सवलाई उपलव्धिमूलक बनाउने प्रयास गरिरहेको देखिन्छ । आयोजकको प्रयासलाई सार्थकरुप दिन अन्य क्षेत्रबाट पनि सहयोगी हातहरु फिजिन सक्यो भने सुनमा सुगन्ध भने झैं महोत्सवको रौनक बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com