माओवादीका कामभन्दा कुरा ठूला

Filed under: समाचार |

काठमाडौं, माघ । नेकपा–माओवादीको सातौं महाधिवेशन स्पष्टरुपले पार्टीको भावी कार्यदिशा तय नगरी सकिएको छ । झन्डै सात महिनाअघि एकीकृत माओवादीबाट ‘सम्बन्ध विच्छेद’ गर्दै गठित नेकपा–माओवादीले आफ्नो राजनीतिक प्रस्तावमा ‘जनयुद्ध’ को जगमा ‘जनविद्रोह’ गर्ने नीति पारित गरेको छ । तर न जनयुद्धको कार्यनीति पारित भएको छ न जनविद्रोहको नै । महाधिवेशनमा सहभागी अधिकांश नेता र कार्यकर्ताले ‘जनविद्रोह’ कै कार्यनीति पारित गर्न नेतृत्वलाई सुझाव र दबाब दिएपनि नेतृत्वले त्यसो गर्न सकेन । जसका कारण महाधिवेशनले पार्टी फुटको औचित्यसमेत पुष्टि गर्न नसकेको केही सहभागीले बताए । अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा ‘जनयुद्ध’ का एजेण्डाले मूर्तरुप नलिएकाले सशक्त प्रतिरोध संघर्ष आवश्यक भएको दाबी गरिएको छ । प्रस्ट भाषामा ‘जनविद्रोह’ को स्वरुप र माध्यम के हुने उल्लेख नगरे पनि नेकपा(माओवादीले पुनः हिंसात्मक राजनीतिमा फर्कन सक्ने संकेत उक्त प्रतिवेदनले गरेको छ । यद्यपि त्यस्तो संकेत कार्यकर्ता झुक्याउने मेलोको रुपमा रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । माओवादीका नेताहरुले आवश्यक परे बन्दुक उठाउन सक्ने चेतावनी सार्वजनिकरुपमै दिंदै आएको पृष्ठभूमिमा महाधिवेशनले पारित गरेको कार्यदिशा भने त्यस्तो छैन । नेकपा(माओवादीले अहिले सत्ता राजनीतिको खिचातानी, जातीय, लिङ्गी, क्षेत्रीय विभेद, सबैतिर ब्याप्त अराजकता र अस्थिरताको जगमा ‘जनविद्रोह’ गर्ने र मुलुकमा जनवादी व्यवस्था स्थापना गर्न सकिने कुरा गरेको छ । अध्यक्ष वैद्यको प्रतिवेदनमा जनवादी क्रान्ति गर्ने र मुलुकलाई निकास दिने उल्लेख छ, एउटा जिम्मेवार पार्टीले मुलुक गतिरोधको दलदलमा फसेका बेला राजनीतिक निकास खोज्ने कुरा गर्नु सकारात्मक हो तर वैद्यले भनेको निकासमा अरु शक्ति अटाउने ठाउँ छैन । निषेधको राजनीति बढ्दै मुलुक तीव्र ध्रुवीकरणको बाटोमा बढिरहेकाले एकातिर राजनीतिक निकास ननिस्केको अवस्था छ भने यही बेला ‘संसदवादीले गर्न सकेनन्, अब हामीले गर्ने हो’ भन्दै ‘जनवादी क्रान्ति’ र ‘जनविद्रोह’ बहसले निकास निस्कँदैन । त्यसकारण नेकपा(माओवादीले हिंसामुखी कार्यक्रम होइन, शान्ति र संविधानको सुनिश्चितता गर्न समाधान खोज्न जरुरी छ । कम बेसी भन्ने मात्रै हो, अहिलेको अवस्था आउनुमा सबै राजनीतिक दल दोषी छन् । नेकपा(माओवादी शान्ति प्रक्रियामा आएको ६ वर्षपछि विभाजित भएको हो । यसबीचमा भएको त्रुटि कमजोरीको ऊ पनि भागीदार हो । सबै दोष एमाओवादी, कांग्रेस, एमालेलगायतलाई थोपरेर ऊ उम्कन सक्दैन । यदि अहिले उसले सारेको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनजीविकाको नारा सत्ता र शक्ति प्राप्तिको हतियार बनाउने अभिष्ट मात्रै होइन भने उसले ‘जनविद्रोह’ को आत्मघाती चिन्तन छोडेर जारी प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्छ । एकीकृत माओवादी भन्दा पृथक देखाउने नाममा ‘हिंसा’ बाटो रोज्नु मुलुक र स्वयम् उसकै लागि समेत प्रत्युत्पादक हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com