- देविका घर्ती मगर
दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला आइतबारबाट शुरु भएको छ । महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । दाङमा भव्य सभागृह निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई विविधिकरण गर्ने उद्देश्यलअनुरुप मेलामा विभिन्न प्रकारका सामग्रीहरु राखिएको छ । मेलाका लागि राखिएका २ सय ३५ वटा स्टलहरुमा बिभिन्न प्रकारका सामग्रीहरु राखिएका छन् ।
यसक्षेत्रको समग्र आर्थिक तथा पर्यटकीय विकास गर्ने र कृषि उत्पादनलाई बढावा दिने उद्देश्यले आयोजना गरिएको महोत्सवमा प्रचारप्रसार तथा विक्री वितरणका लागि विभिन्न सामग्रीहरु राखिएका छन् । मेलामा प्रदर्शन तथा विक्री वितरणका लागि थुर्पै स्टलहरु राखिएका छन् । मेलामा अल्लोको धागोद्वारा उत्पादन गरिएका विभिन्न सामग्रीहरु आकर्षणको रुपमा रहेको छ । घोराही नगरपालिका–१० स्थित पे्रम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योग र देवा सप्लायर्सले महोत्सवमा अल्लोद्वारा उत्पादन गरिएका घरेलु सामग्रीहरु राखेको छ । स्थानीय महिलाहरुले तानमार्फत उत्पादन गरेका (बुनेका) अल्लोद्वारा बनाइएका विभिन्न डिजाईनका झोलाहरु, पर्सहरु, क्यामरा ब्याग, मोबाईल ब्याग, गलबन्दीहरु, चप्पल, पछ्यौरा, कोट, स्टकोट, क्याप, नेपाली टोपी लगायतका विभिन्न सामग्रीहरु मेलाका आकर्षणका रुपमा रहेका छन् । स्थानीय महिलाहरुले रोल्पा, रुकुमका बनजँगलहरुमा गएर खोजेर ल्याएका अल्लोद्वारा बनाइएका सामग्रीहरु निकै नै आकर्षक रहेका छन् । नेपाली स्थानीय उत्पादनलाई पनि बजारमा ल्याउन आवश्यक भएका कारण अल्लोद्वारा बिभिन्न प्रकारका सामग्रीहरु बनाएर बिक्री वितरणका लागि राखिएको पे्रम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योगकी पे्रमकुमारी पुनमगरले बताउनुभयो । आफूले सानैमा आफ्नो आमाबाट सिकेको सीपलाई ब्यवसायीकरण गर्दै लैजाने उद्देश्यले उद्योगको स्थापना गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि अल्लो तथा धागोद्वारा तानमा बुनेर बिभिन्न सामाग्रीहरु निर्माण गर्दै आउनुभएकी देवा सप्लायर्सकी देवकुमारी बुढामगरले आफूले सिकेको सीपलाई बजारीकरण गर्ने उद्देश्ले पसल सञ्चालन गरेको बताउनुभयो । भाँगो, पुवा, अल्लोबाट बनाइएका सामग्रीहरु स्थानीयस्तरका कच्चापदार्थबाट बनाइएको र यसक्षेत्रकै महिलाहरुले बनाएको बताउँदै उहाँले सबैको सहयोगबाट नै आफूले बनाएका सामग्रीहरु विक्री वितरण हुन सक्ने बताउनुभयो । हामी आफैले तानमा हातले बुनेर बनाएका हौं, ब्यवसायीकरण गर्ने उद्देश्यमा छौ,–उहाँले भन्नुभयो, यसका लागि सबैको सहयोगको आवश्यकता छ । मेलाको अर्को आकर्षणको रुपमा तुलसीपुरस्थित गंगामाला लघुउद्यमी महिला समूहको च्याउ खेती रहेको छ । उक्त महिला समूहले ताजा च्याउहरु, च्याउका सुकुटीहरु सँग्र च्याउका मःमः तथा अचारहरु पनि बिक्री बितरण गर्दै आएको छ । समुहमा रहेका १६ जना महिलाहरुले महोत्सवमा स्टल राखि च्याउका बिभिन्न परिकारहरु बिक्रि बितरण गर्दै आएको छ । समूहकी अध्यक्ष तुलसी बुढाले यसअघि काठमाडौं, नेपालगञ्ज लगायतका अन्यक्षेत्रमा पनि स्टल राखेर बिक्री गरेको जानकारी दिनुभयो । महोत्सवमा नयाँ परिकारको रुपमा केराबाट बनाइएका केराका मःमः, चिप्स, अचार, केराका बुँगाका अचारहरु राखिएको छ । चितवन केरा कृषक समूह रत्ननगर–१ को समूहले महोत्सवमा केराका परिकारहरु विक्री वितरण गर्दै आएको छ । चितवन, पाल्पा, पोखरा, बुटवल, दमौलीका महोत्सव पनि दाङ्गालीहरुलाई पनि केराका परिकारहरु खुवाउने उद्देश्यले दाङ महोत्सवमा ल्याइएको समुहका अक्कलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै महोत्सवमा थारु जातिको पम्परागत खानाको स्टल पनि राखिएको छ । थारु जातिका परम्परागत खानाहरु ढिव्रmी, घोँगी, सिद्रा माछा, मच्छी फ्राई, परेवा र कुखुराका मासु, जाँडाको झोल, रक्सी, अनदीको रोटी, अनदीको भात लगायतका खानाहरु राखिएको छ । हरचाली ठाँटी महिला उद्योग नेपालगञ्जले थारु जातिको पम्परागत खानाहरु ल्याएको छ । थारु जातिका परम्परागत खानाहरु सबैलाई खुवाउने उद्देश्यले स्टल राखिएको सुमित्रा चौधरीले जानकारी दिनुभयो । त्यस्तै राप्ती एपिकल्चर घोराहीले महको स्टल राखेको छ । बिभिन्न प्रकारका महहरु महोत्सवमा राखिएका छन् । महाका चाका, भिरे मौरी, घर मौरी, सबै प्रकारका मौरीका चाकाहरु, मैन, मलम, महसम्बन्धी पुस्तकहरु महोत्सवमा राखिएको राप्ती एपिकल्चरका दीपकुमार बुढामगरले जानकारी दिनुभयो । यस्तै महोत्सवमा नेवार जातिका परम्परागत खानाहरु राखिएको छ । नेवार सेवा समिति दाङले नेवारी खानाको स्टल राखेको हो ।
यसबाहेक मेलामा नेवारी, थारु, मुस्लिम समुदायमा पम्परागत खानाका परिकारहरुदेखि कृषि उत्पादन, घरेलु उद्योगद्वारा उत्पादित विभिन्न सामग्रीहरु, मह, गाडीहरु, आयुर्वेदिक औषधीहरु, लत्ताकपडा, खाद्यान्न, अचारहरु, हस्तकला, भाँडाकुडालगायतका विभिन्न सामाग्रीहरु मेलामा प्रदर्शनीका लागि राखिएको छ । त्यस्तै मेलामा विश्वकै होचा ब्यक्ति दाङ निवासी चन्द्रबहादुर थापा, नेपालकै होची महिला दाङ निवासी ईश्वरीमाया छिनाल, बाल उद्यानहरु पनि महोत्सवका आकर्षणहरु रहेका छन् ।