काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको समीकरण र बाहिर छविलाई सुधार गर्न आफ्ना गुरु भनिएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ नेतृत्वको विभाजित पार्टीलाई पुनः एकीकरणको चारो फाल्न सफल भएका छन् । पछिल्लो समय प्रचण्डको दूत बनेर शक्तिकेन्द्रहरुसँग समीकरण बनाउन लागिपरेका कृष्णबहादुर महराको पहलमा पटक–पटक भएको वार्ताका क्रममा प्रचण्डले वैद्य समूहलाई चारो हाल्ने प्रयास गरे पनि वैद्यले अझै पूरा भरोसा भने गर्न सकेका छैनन् । यतिसम्म कि वैद्य एकतामा आए बाबुरामलाई कारवाही गरेर पार्टीबाटै आउट गर्नेसम्मको निर्मम् प्रस्ताव प्रचण्ड पक्षबाट वैद्यसमक्ष पु¥याइएको छ ।
महाधिवेशनको मिति घोषणा गरे पनि प्रचण्ड वैद्यसँग पार्टी एकता गराई बाबुराम भट्टराईलाई पाखा लगाउने अभियानमा सक्रिय हुन थालेका छन । नेकपा–माओवादीसँग पार्टी एकता गर्दा बाबुराम पक्ष बाहिरिए पनि फरक नपर्ने भन्दै आफूनिकटका नेताहरुूलाई प्रचण्डले एकता अभियान थाल्न सुझाव दिएका छन् । मध्यधारका भनिएका महरालाई पहिलादेखि नै प्रचण्डले उक्त अभियानको जिम्मेवारी दिएकोमा पछिल्लो समय अमिक शेरचन र लिलामणि पोखरेललाई पनि यही अभियानमा परिचालन गरेका छन् । त्यही कारण बेलाबेलामा महरानिवासमा प्रचण्ड र वैद्यको भेटघाट भइरहेको छ । पार्टी एकताकै प्रस्तावमा मंसिरमा मात्रै प्रचण्ड र वैद्यबीच दुई पटक भेट भइसकेको छ । यो अभियान सुरु भएपछि वर्षमान पुन बाबुरामतिर ढल्किएका छन् भने शेरचन र पौडेललाई प्रचण्डले अघि सारेका छन् । पार्टी विभाजनभन्दा पहिला पनि पार्टी एकताको पहल गर्नेभन्दै प्रचण्डले महरालाई जिम्मेवारी दिएका थिए ।
एमाओवादी स्रोतका अनुसार, प्रचण्डले अहिले पार्टी प्रवक्ता अग्नि सापकोटालाई पनि ‘किरण’ र रामबहादुर थापा ‘बादल’लाई फकाउने जिम्मेवारी दिएका छन् । नातामा वैद्य र सापकोटा सम्धी पर्छन् । त्यही नाता प्रयोग गरी वैद्यलाई फकाउन तथा पार्टी एकता गर्न सकिएमा गिरेको पुरानो शाख फिर्ता लिन सकिने बुझाई प्रचण्ड पक्षको छ । उक्त अभियानबारे बाबुराम पक्षले जानकारी पाइसकेका कारण तर्सिएको छ । देवेन्द्र पौडेल र हिसिला यमी उक्त अभियानको पूर्णविपक्षमा उभिएका छन् । यतिबेला बाबुराम निकटका टोपबहादुर रायमाझी र राम कार्की तटस्थ भूमिकामा देखिएको पनि एमाओवादी स्रोतले जानकारी दिएको छ । मोहन वैद्य किरणलाई विश्वासमा लिएर पार्टी एकता गराउन सकिए बाबुरामले पार्टी छोडे पनि केही फरक पर्दैन भन्ने बुझाइमा प्रचण्ड पुगेको उनीहरुको भनाइ छ । प्रचण्डनिकट एक नेताका अनुसार, भारतले बाबुरामलाई प्रयोग गरेर प्रचण्डको राजनीतिक जीवनमाथि गम्भीर प्रहार गरेको बुझाई प्रचण्डमा रहेको छ । त्यसो त बाबुराम पक्षले पनि प्रचण्ड लुम्बिनी प्रोजेक्टका नाममा पश्चिमाको विश्वास जित्ने अभियानमा लागेकोले उनलाई काउन्टर दिन तत्काल समीकरण फेरबदलमा जोड दिनुपर्ने तर्क गर्नथालेका छन् । पछिल्लो समयमा प्रचण्ड निवासमा मोहन वैद्य किरणको पार्टीका नेताहरुको भेटघाटलाई पनि बाबुराम पक्षले गम्भीर रुपमा लिएको छ ।
मंसिर ११ गते कृष्णबहादुर महरानिवासमा प्रचण्ड र वैद्यबीच भएको भेटघाटमा प्रचण्डले राखेको पार्टी एकताको प्रस्तावलाई पनि बाबुराम पक्षले गम्भीर रुपमा लिएको बाबुराम निकट नेताको भनाइ छ । महरानिवासमा प्रचण्डले पार्टी एकता गर्ने सर्तमा रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेका थिए । त्यसैगरी मंसिर २४ गते पनि प्रचण्ड र बैद्यबीच भेटघाट भएको छ । स्रोतका अनुसार, प्रचण्डले उक्त भेटघाटमा पनि पार्टी एकिकरण गर्ने प्रस्ताव राखेका थिए । पार्टी एकता गर्ने अवस्थामा बादललाई प्रधानमन्त्री बनाउन सकिने र महाधिवेशन सार्न सकिने प्रस्ताव पनि प्रचण्डले बैद्यसँग राखेका छन् । दुई नेताबीच भएको मंसिर २४ गतेको भेटघाट बारे कसैलाई जानकारी गराइएको छैन । वैद्य पक्षका नेताहरुमा देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, धर्मेन्द्र बास्तोललगायतका नेताहरु बाबुराम बाहिरिने शर्तमा पार्टी एकता गर्नुपर्ने पक्षमा रहेको बताइन्छ । उनीहरुले तत्काल जनयुद्धमा जान नसकिने तर्कगर्दै पार्टी दर्ता प्रक्रियामा जानुपर्ने बताउँदै आएका छन् ।
तर, नेता सिपी गजुरेल, नेत्रविक्रम चन्द, हरिभक्त कँडेल, खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु भने विद्रोहको तयारीमा लाग्नुपर्ने पक्षमा छन् । चीन भ्रमणबाट मंसिर २३ गते स्वदेश फर्किएका नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोला र हितमान शाक्यको टोलीलाई पनि सकेसम्म पार्टी एक भएर जान चीनले सुझाएको नेकपा–माओवादीमा चर्चा चलेको छ । तर, नेकपा माओवादीले पुस २५ देखि २९ गतेसम्म काठमाडौंमा पार्टी महाधिवेशन तोकिसकेको र गाउँदेखि जिल्लासम्म नयाँ नेतृत्व आइरहेका बेला प्रचण्डले तलदेखि माथिसम्मै एकताको लागि गरेको प्रस्ताव महाधिवेशन भाँड्ने षड्यन्त्र हो कि भन्ने आशंका पनि वैद्य पक्षका कतिपय नेताहरुले गरेका छन् । यद्यपि प्रचण्डले भने क्रान्तिकारीहरु फुटेर भिन्दा माओवादीमा दक्षिणपन्थी र नारायणकाजी जस्ता चैतेहरु उम्लिएर शक्तिशाली बनेको र कालान्तरमा यसले प्रचण्ड र वैद्य दुवैलाई बेफाइदा गर्ने तर्कअघि सारेका छन् । वैद्यले हरियो बत्ती नबाले पनि रातो बत्ती पनि देखाएका छैनन् ।