सन्तोष खनाल
दाङ/दाङका ग्याँस ब्यापारीले अधिकतम सरकारी दररेट भन्दा बढी रकममा एलपी ग्यास बेचेर खुलेयाम कालाबजारी गरिरहेका छन् । दाङका ग्याँस विक्रेताहरुले सरकारी दरदरेटको बेवास्तागरी मनोमानी तरीकाले मूल्य निर्धारण गरी बेचिरहेका हुन् ।
नेपाल सरकारले ग्याँसको अधिकतम खुद्रा दरदरेट भनेर १४ सय ७० रुपैयाँ तोके पनि ब्यारीले मनोमानी तरीकाले १५ सय १५ रुपैयाँ सम्ममा ग्यास बेचिरहेको छन । नेपाल आयल निगम अन्तर्गत वितरण गरीने एलपी ग्यासको मूल्य निगमले तराई क्षेत्रमा १४ सय ५० र पहाडी क्षेत्रमा १४ सय ७० रुपैयाँ अधिकतम खुद्रा मूल्य तोकेको छ । निगमले तोकेको अधिकतम खुद्रा दररेट अनुरुप दाङमा १४ सय ७० सम्ममा बेच्न पाइन्छ । तर, दाङका ब्यापारीले १५ सय १५ रुपैयाँ सम्ममा बेचिरहेका छन । नेपाल आयल निगमले ब्यापारीलाई पसल सम्म सामान ल्याउन यातायात खर्च आफै बेहोर्ने गरेको छ ।
उचित कमिसन नपुगेको भन्दै दाङका ग्याँस विक्रेताले दाङ देउखुरी विक्रेता संघ गठन गरेर संगठित भै खुलेयाम गैरकानुनी काम गरिरहेका हुन । दाङ देउखुरी ग्याँस विक्रेता संघका अध्यक्ष नेरश कार्कीले आफूहरुलाई नाफा कम भएकाले मूल्य बढाउन परेको बताउनुभयो । उहाँले नाफा आधिकारीक रुपमा कम्तिमा ५ प्रतिशत नपाउँदासम्म हालको मूल्य कायम राख्ने बताउनुभयो । घोराही र तुल्सीपुरको उद्योग बाणीज्य संघलाई साक्षी राखेर मुल्य बढाएका हौं, कालोबजारी गर्न खोजेका हाइनौं । बाध्यताले मूल्य बढाउन परेको छ उहाँले भन्नुभयो । ब्यापारीले पाउने नाफा उद्योगले खाएकाले आफूहरु मारमा परेको उहाँको भनाइ छ । उद्योगलेनै हामीलाई मंहंगोमा बेच्छन् हामी मूल्य बढाउन बाध्य छौं, यदि मूल्य नबढाए ग्याँसको ब्यापार नगरे पनि हुन्छ । विना मुनाफाको ब्यापार किन गर्ने ? अध्यक्ष कार्कीले प्रश्न गर्नुभयो ।
यो गैरकानुनी होः आयल निगम
अधिकतम खुद्रा सरकारी दररेट भन्दा बढीमा ग्यास बेच्नु गैरकानुनी भएको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगम बबरमहल काठमाडाँैका निर्देशक शिवप्रसाद पुडासैनीले कालोबजारी गर्ने ब्यापारीलाई ग्याँस विक्रेता नियमावली अन्तर्गत कार्वाही हुनुपर्ने बताउनुभयो । उहाँले यस बोरमा निगममा उजुरी नपरेकाले कार्वाही प्रक्रिया अगाडी नबढेको जानकारी दिनुभएको छ । दाङ जिल्ला नेपाल आयल निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जको कार्यक्षेत्रअन्तर्गत पर्दछ । आयल निगम क्षेत्रीय कार्यालय नेपागञ्जका क्षेत्रीय प्रमुख सिताराम पोख्रेलले दाङका ग्याँस विक्रेताहरुले सरकार िखुद्रा दररेट भन्दा बढीमा बेचेर नियम संगत काम नगरेको बताउनुभयो । विक्रेतालाई कार्वाही गर्ने दायरा निगमलाई नभएको भन्दै उहाँले स्थानीय प्रशासनले जिल्ला अनुगमन टोलीले दिएको प्रतिबेदनका आधारमा कार्वाही गर्न सकिने जानकारी दिनुभयो । निगमले सरकारी दररेट भन्दा बढी उपभोक्ताले तिर्नु नपर्ने जनाएको छ ।
गैरकानुनी भए कावार्ही गर्छुः प्रजिअ
दाङका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले व्याँसको नियमबारे खासै जानकारी नभएको बताउँदै यसबारे बुझेर गैरकानुनी भए कार्वाही गर्ने बताउनुभएको छ । प्रशासनमा हालसम्म उजुरी नआएको बताउँदै प्रमुख जिल्ला अधिकारी खाँले नियम विपरीत भए अनुगमन गरेर कार्वाही गर्ने बताउनुभयो । अनुगमन टोलीलाई अनुगमन गर्न पठाउँछौं कानु विपरीत भए कार्वाहीको प्रक्रियामा जान्छौं प्रजिअ खाँले भन्नुभयो ।
सरकारी दररेटले नाफै हुन्नः विक्रेता
अधिकतम सरकारी दररेट अनुसार ग्यास बेच्दा ब्यापार घाटामा जाने विक्रेताहरुले गुनासो गरेका छन । आफूहरुलाई ५ प्रतिशत सम्म नाफा नभए ब्यापार धरासाही हुने ब्यापारीको धारण रहेको छ । भेरी ग्यास बेचिरहनुभएका देउखुरी लालमटीयाका दधिराम आचार्यले सरकारी दररेटमा ग्याँस बेच्नपरे उद्योगले मूल्य घटाउनुपर्ने नत्र पसल बन्द गर्नुपर्ने बताउनुभयो । थोरैमा बेच्नुपरे नाफै हुन्न बरु कारोबारै बन्द गर्छौ उहाँले भन्नुभयो । तुल्सीपुरमा मनकामना ग्यास बेचिरहनुभएका ललित जंग शाहले ३० रुपैयाँमात्र कमिशनले ग्यास बेच्न नसकिने बताउनुभयो । उहाँले भ्याट र लोड अनलोड खर्चमात्रै २५ रुपैयाँ लाग्ने जानकारी दिनुुभयो ।