के हो कुष्ठरोग ?

Filed under: स्वास्थ्य |

Rashtriya-Kushtarog-005जीउमा रातो, फुस्रो, छुँदा थाहा नहुने दाग छ ? यदि हो भने एकपटक छाला रोग विशेषज्ञको सल्लाह लिनुस् । दागसँगै तपाईको हातगोडाका स्नायु मोटो देखिन्छन्, हातगोडा झम्झमाउँछन् भने यो कुष्ठरोगको समेत लक्षण हुन सक्ने भएकाले समयमै सचेत हुनुस् । कुष्ठरोग उपचारले पूर्णनिको हुन्छ । स्वास्थ्य मन्त्रालय, कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार, मुलुकमा करिब ३० हजार व्यक्ति कुष्ठरोगका कारण अपांगतासँगै बाँचिरहेका छन् । मुलुकको १६ मधेसका र एक पहाडी जिल्ला जुम्लामा अझै रोगीको चाप उच्च छ । कुष्ठ माइक्रोब्याक्टेरियम लेप्रि जीवाणुले गर्दा हुने दीर्घरोग हो । यसले मुख्यतः छाला र स्नायुमा असर गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यपत्र अनुसार यो रोग शरीरमा धेरै ढिलो गरी फैलिनुका साथै रोगका लक्षण प्रकट हुने अवधि पाँच वर्षदेखि २० वर्षसम्म लाग्न सक्छ । कुष्ठरोग संक्रामक भए पनि धेरै कम सर्ने रोग हो । धेरै दिनदेखि उपचार न गराएका संक्रमित रोगीको सम्पर्कमा आए मात्र यो रोग सर्ने सम्भावना हुन्छ । धेरै बढी सर्ने रोग नरहेको कुष्ठ उपचार नगराएका रोगीको सास र मुखबाट निस्किने पानीका स(साना थोपाबाट नियमित र नजिकको सम्पर्कबाट स्वस्थ व्यक्तिमा सर्ने गर्छ । यो रोग सर्ने क्रम संक्रमित व्यक्तिको रोग प्रतिरोधक क्षमतामा समेत भर पर्छ ।
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का अनुसार परिवारका केही व्यक्तिमा संक्रमण हुन्छ । तर अन्य निकट परिवारिक सदस्यमा यो रोग विकसित हुँदैन । यो उनीहरुको ब्याक्टेरियासँग लड्ने व्यक्तिगत क्षमतामा निर्भर गर्छ । कुष्ठरोगमा छालामा घाउ हुनु यसको प्रारम्भिक बाहिरी संकेत रहेको जनाउँदै धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण समयमै उपचार नगरे पछि रोग बढेर छाला, स्नायु, हातखुट्टा र आँखामा स्थायी क्षति हुन सक्ने बताउँछन् । कुष्ठरोगमा शरीरको अंग अलग्गिएर झर्दैनन् । यो रोगले ती अंगलाई लाटो तथा रोगी बनाउँछ । लाटो अंगमा ठोक्किँदा, काटिँदा बन्ने घाउ बिग्रेर नै हातखुट्टा गुम्ने गर्छ । एनआईएआईडीका अनुसार पासी बैसिलरी अर्थात् ट्युवरकुलाइड कुष्ठरोगमा छालामा ‘हाइपोपिग्मेन्टसन’ एक वा बढी दागद्वारा चिनिन्छ । ती ठाउँमा छालाको संवेदना समाप्त हुन्छ । त्यहाँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो भएको हो । यस्तै, मल्टिबैसिलरी अर्थात् वर्डरलाइन कुष्ठरोगको तीव्रता मध्यम हुन्छ । यो सबैभन्दा सामान्य रुप हो । छालामा दाग ट्युवरकुलाइड कुष्ठरोगजस्तै देखिन्छ । तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठूलो दाग पूरा अंगलाई प्रभावित गर्नसक्छ ।
मल्टिबैसिलरीकै लेप्रोमेटस कुष्ठरोगमा छालामा संक्रमित घाउ, ग्रन्थी, प्लाक, आन्तरिक छाला (डर्मिस) को मोटाइ बढ्नु, नाकको श्लेष्मको नियमित सहभागिता, जसको कारण नाकमा रगत जम्नु, रगत बग्नुजस्ता समस्या हुन्छन् । छालामा भएको रंगहीन दाग, जो अलि वा पूर्णरुपमा स्पर्शहीन होस् वा त्यो दागमा कुनै वस्तु घोचिँदा समेत थाहा नपाइए कुष्ठको लक्षण हुन सक्ने डा.कर्ण बताउँछन् । यो रोगमा हातखुट्टा संवेदनहीन हुन्छन् । अनुहार लगायत शरीरका अन्य अंगमा थुप्रै नरम र परिभाषित गर्न नसकिने राता दाग समेत यसको लक्षण हुन सक्छन् । कुष्ठ भए नभएको किटान गर्ने छाला रोग विषेशज्ञले परीक्षण गर्छन् । क्लिनिकल परीक्षणमा कुष्ठ किटान भएपछि समेत उपचार गरिन्छ र शंका देखिए पुष्टिका लागि संक्रमित छालाको तन्तुलाई लिएर सूक्ष्म परीक्षण गरिन्छ । कुष्ठ पूर्णरुपमा निको हुने रोग हो ।
प्रारम्भिक अवस्थामा भने यो रोगको उपचार सजिलै हुन्छ । धेरै ढिलो भए यो रोगले गर्दा शरीरमा थुप्रै विकृति उत्पन्न हुन्छ, जुन औषधि सेवनपछि शरीरमा रोगका किटाणु नरहे पनि विकृति भने रही नै रहने डा.कर्ण बताउँछन् । डब्लूएचओका अनुसार यो रोगको कुनै पनि अवस्था र प्रकारमा बहुऔषधि उपचार पद्धति
(एमडीआर) अन्तर्गत नियमित औषधि सेवन गर्दा निको हुन्छ । बहुऔषधि उपचार चिकित्सा चक्की एवं प्याप्सुलको संयोजनले पाइन्छ । यसमा तीनवटा औषधि हुन्छन् डेप्सोने, रिफाम्पिसिन र क्लोफाजिमाइन । यिनै औषधिको संयोगले कुष्ठको किटाणुलाई पूर्णरुपमा मार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com